नयन

रञ्जित रेग्मी

अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के ।

हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु, क्रान्तिको उद्घोष गर्दै पेरिसडाँडाका राता अनुहार, अनि, सनातन भजन गाउँदै गेरुधारी बनारसीलालहरु, र, छिर्छन सिंंहदरबार ।

यता सप्तरंगी प्रकाश–पुञ्जले सजाइएको सिंहदरबार स्वर्गीय झिलिमिलीसंगै मनोरंगका इन्द्रेणी चक्रले घुमाउँछ फनफनी अनि, सेतो पर्दा देखाउँदै अनुहारभरि कालो पोटेर पठाउँछ बाहिर हामी भने, तिनै काला आकृतिहरुलाई भगवान भनेर पुजिरहेछौं ।

मौसमहरुले समयसंगै के–के खबर ल्याउँछन् रंगहरु आलोपालो गर्दै एक मुठी माटोको उपहार र, बिन्ति–पत्र बोकेर पुग्छन् दिल्लीगेट यता दिल्ली दरबारले बिन्ति–पत्र सुर्ती र पानसंगै चपाउँछ अनि, सिंहदरबारमा पिच्च थुक्छ हामी भने, त्यही छिटाको रंगमा होली खेल्छौं

। यता, प्रयोगशालाभित्र धेरै रंगहरु रिकप र टेष्टट्युबमा कति सजिलै घुल्छन् तर, उही रंगहरु कहिलेकाहीं विभक्त हुन्छन् आफै र, फुटाउँछन् अरुलाई अनि, एकार्कामा फोहोर छ्यापाछ्याप गर्छन् हामी भने, प्रयोगशालामा रंगहरुका लुकामारी हेरेर दिन बिताइरहेछौं

Leave a comment